Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
लिम्बूहरुले सिक्किम र तिब्बतबाट नेपाल जोगाएको प्रमाण

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


२१ वैशाख, काठमाण्डौं । पूर्वी नेपालका लिम्बूजातिले नेपाल एकीकरणका बेला गोर्खालीसँग लडेको मात्रै नभई लिम्बुवानलाई सिक्किम र तिब्बतको आक्रमणबाट जोगाएर नेपाल निर्माणमा समेत योगदान पुर्याएको दाबीसहित दुई लेखकले पूर्वी नेपालको इतिहासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् ।

“हज्शन पाण्डुलिपीमा गोर्खा-खम्बुवान-लिम्बुवान युद्ध” नामक पुस्तक विश्व याक्थुङ मुन्धुम समाजले ल्याएको हो । पुस्तक उदीयमान लेखक अर्जुनबाबु माबुहाङ र उनका सहयोगी भरत तुङघङले लेखेका हुन् । माबुहाङले लिम्बू इतिहास र मुन्धुमबारे विभिन्न पुस्तकहरू लेख्दै आएका छन् ।

हज्शन पाण्डुलिपीभित्रका लिम्बू जातिका सामाग्रीमध्ये खण्ड ८५ जुन शिरिजङ्गा लिपीमा लिम्बू भाषामा लेखिएको लेखोट आजभन्दा १ सय ६६ वर्षअघि जोभानसिं फागो वनेमले दार्जिलिङमा हज्शनलाई बुझाएका थिए । उक्त लेखोटमा गोर्खाविरुद्ध खम्बू (राई), याक्थुङबा (लिम्बू), मुदेम्बा (भोटे), याख्खा, देवान, याम्फु, लोहोरुङ, मेवाहाङहरूले लडेको संघर्षको कथालाई उतारिएको छ ।
नेपालका लागि ब्रिटिश रेजिडेन्स हज्शनले नेपाल र दार्जिलिङ बसाइका क्रममा विभिन्न जातजातिका भाषा, इतिहास, लोक साहित्य संङ्कलन गरे । उनी सन् १८२५ देखि १८५८ नेपाल हुँदै दार्जिलिङमा रहे । उनले यसरी सङ्कलन गरेका सामाग्रीहरूलाई हाल लण्डनस्थित ब्रिटिश लाइब्रेरीमा हज्शन स्क्रिप्ट (पाण्डुलिपी) का नामले सुरक्षित राखिएको छ ।

पुस्तकमा हज्शन पाण्डुलिपीमा लिम्बुका सामग्रीहरू इमानसिं चेम्जोङ, डा. रमेश ढुङ्गेल र बैरागीका काइँलाले पनि अध्ययन गरेको खुलाइएको छ । लेखकद्वयले भने खण्ड ८५ को १ सय ३० देखि १ सय ४९ सम्म लिम्बू भाषामा शिरिजङ्गा लिपीमा लेखिएको लेखोटलाई पाठकले सजिलै बुझ्ने गरी लिम्बू भाषाबाट देवनागरीमा लिप्यान्तरण गरेर नेपालीमा अनुवाद गरेका छन् ।

पाण्डुलिपीमा पाइएका पात्र, स्थान र घटनालाई पुष्टि गर्न लेखकहरू स्थलगत अध्ययनमा भोजपुरको हतुवागढी, अरुण नदी र सभाखोलाको दोभान हुँदै सङ्खुवासभाको धुपु, बाह्रबिसे, सिबुवा-स्वयाबुन, वाना, जलजला, चयनपुरदेखि मादीरामबेनी, ताप्लेजुङको साँबा, पाँचथरको च्याङथापु, नागी, पञ्चमीदेखि इलामसम्म पुगेका छन् । त्यस्तै विजयपुरदेखि धनकुटाको बुढीमोरङसम्म लेखकहरु पुगेका छन् ।

लेखकहरुले पुस्तकको ऐतिहासिकता पुष्टिका लागि आफ्ना कुरा पाठकलाई सजिलै बुझाउन, पुष्टि गर्न स्थलगत अध्ययनलाई बढी जोड दिएका छन् । पुस्तकमा वंशावली, लालमोहोर, सनद, रुक्का, मुद्दामामलाका कागजातहरू सङ्कलन गरिएको छ ।

स्वदेशी इतिहासकार योगीनरहरीनाथ र बाबुराम आचार्यका पुस्तक एवं विदेशी हामिल्टन, रिस्ले जस्ता लेखकका पुस्तक पनि सन्दर्भ सामग्रीमा परेका छन् ।

पुस्तकमा भोजपु्रको हतुवागढीका शासकहरू सुनाहाङ, कर्माहाङ, अटलसिं, बदलसिंहरू वर्तमानमा वालिङ वा वालाहाङ राईका पूर्खाहरू रहेको र जसलाई लिम्बूले वलिङहाङ भनेर भनिएको पुष्टि गरिएको छ । अटलसिं बदलसिंसम्बन्धी लिम्बूवानमा भेटिएका कागजहरू र लोकोक्तिहरू पुस्तकमा समेटिएका छन् ।

खम्बुवानको वास्तविक इतिहासको सुभारम्भ एवं गोर्खा विरुद्ध लड्ने काङशोरेका बारेमा स्व. इमानसिं चेम्जोङले लेखे पनि काङ्शोरेको थातथलो, वंश र सहादत प्राप्त गरेका स्थान पत्ता लगाउन सकेका थिएनन् । यो पुस्तकमा काङशोरे फागो वनेम लिम्बूका पूर्खा रहेको र उनले सङ्खुवासभाको बाह्रबिसे र सभापोखरी गाविसहरूको बाह्रबिसे बजारको सभाखोला र लंकुवाखोलाको दोभानमा गोर्खाली पक्षका रघुराना र याक्थुङबा पक्षका काङशोरेको विशुद्ध लिम्बुुवानको सार्वभौम सत्ताको रक्षार्थ लडेको प्रष्ट्याइएको छ । पुस्तकभित्र सबैभन्दा भरपर्दो तथ्य के छ भने गोर्खाविरुद्ध लड्ने काङ्शोरे र उनका सहयोद्धाहरू जयकर्ण, साङबोत्रे, विरजितरे, मन्जितरे, गंगारेका नामहरू पुस्तकमा भेटिन्छ । पाण्डुलिपीमा युद्ध भएकास्थल नजिक आजसम्म जागिर पाएर बसेका फागो वनेमको बसोबास हुनु, गोर्खालीले फागोलाई माफी दिएको कागज पाइनु, फागो र भोटेको मिलोमतो भएको कागज पाइनु आदि दृष्टान्तले गोर्खाली विरुद्ध फागोको नेतृत्वमा पहिले लिम्बूहरू लडेको र काङशोरेको मृत्यु पश्चात फेरि फागो लिम्बूका नेतृत्व गोर्खालीतिर लागेको देखाइएको छ ।

याङवारकका लिम्बू र सिक्किमका भोटेहरूको गुटले गोर्खा विरुद लडेको पुस्तकमा उल्लेख छ । सो युद्धमा ताप्लेजुङ साँबाका साँबाथरीका लिम्बू सिपाको पनि सहादत भएको पुस्तकमा वर्णन गरिएको छ । पूस्तकभित्र हज्शनको पाण्डुलिपीमा पाइएका स्थानहरू आजसम्म त्यही नामले पुकारिएको पाउनु, पात्रहरूका नामहरू लोकोक्ति, वंशावली, गोर्खाले लिम्बूलाई दिएका सरकारी कागजातहरू र विदेशीले लेखेका पुस्तकमा पाउनुले पाण्डुलिपी ऐतिहासिक दस्तावेजको रुपमा पुष्टि भएको देखाइएको छ ।

लिम्बूहरूले गोर्खाविरुद्ध आफ्नो जातीय सार्वभौमताको रक्षार्थ लडेको र त्यसलगत्तै गोर्खातिर लागेर नेपाललाई तिब्बत र सिक्किमको आक्रमणबाट लिम्बुवानलाई बचाएको देखिन्छ । त्यसैले आजको नेपाल बन्नमा लिम्बू जातिको ठूलो योगदान रहेको पुस्तकमा देखाइएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

1 comments

जय लिम्बुवान जय लिम्बुवान भुमिका सहिदहरुलाई माङ्सेवा

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!