Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
‘अफगानिस्तानबाट बिदामा नेपाल नफर्किनु राम्रो’

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

१५ पुस, काठमाण्डौ । के तपाई अफगानिस्तानमा कार्यरत हुनुहुन्छ र बिदाको समयमा घर आउने तयारी गर्दै हुनुहुन्छ ? यदि त्यस्तो सोचाइमा हुनुहुन्छ भने तत्कालका लागि घर नआउनु नै उपयुक्त हुने छ ।
किनकि तपाईलाई त्रिभुवन विमानस्थलबाट पुनः अफगानिस्तान र्फकन नेपाल सरकारले दिने छैन । त्यसपछि तपाईले भारतीय बाटो हुँदै अफगानिस्तान फर्किने वा दलाललाई ठूलो रकम खुवाउँदै हिँड्नुपर्ने अबस्था आउन सक्छ । रोजगारीका लागि अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका नेपालीहरु बिदामा घर आएपछि पुनः काममा फर्किन नपाउने भएका कारण तपाईलाई यस्तो समस्या आउन सक्छ ।
नेपाल सरकारको यस्तो नीतिका कारण अफगानिस्तानका सैन्य शिविरहरुमा कार्यरत करिव १८ हजार नेपाली बिदा पाए पनि घर आउन नसक्ने भएका छन् । पहिले अबैध तरिकाले गएको भए पनि कम्पनीसँगको सम्झौतापत्र र पासपोर्टमा भिसा भएको अवस्थामा भने उनीहरुलाई पुनः काममा फर्किन दिनेगरी बैधानिकता प्रदान गर्न बैदेशिक रोजगार बिभागले तयारी गरेको थियो । तर, गृह र परराष्ट्रको असहमतिपछि त्यो प्रयास असफल भएको छ र यसबाट अफगानिस्तानमा कार्यरत् नेपालीमाथि नकारात्मक प्रभाव पर्ने भएको छ ।
सरकारी प्रयास बीचमै तुहिएपछि बैधानिक हुन पाइने आशमा दशैं मनाउन नेपाल फर्किएका करिव ५ सय नेपालीहरु अबैध बाटोबाट पुनः अफगानिस्तान पुगेका छन् । समयमै फर्किन नसकेका कारण कतिपयले जागिरसमेत गुमाएका छन् ।
‘हामीले प्रयास गरेकै हौं, तर गृह र परराष्ट्र मन्त्रालयको तहमा पुगेर रोकियो’ श्रम मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने-’ ‘परराष्ट्रले अमेरीकी दूतावाससहित कुटनीतिक निकायसँग छलफल गरिरहेको छ, तर निचोड निस्किएको छैन ।’
अहिलेकै अबस्थामा अफगानिस्तानबाट फर्किने कामदारहरु वैधानिक बाटोबाट फर्किन नसक्ने भन्दै ती अधिकारीले सकेसम्म तत्काल बिदामा नआउन त्यहाँ रहेका कामदारलाई सुझाव दिए । ‘आउनुस, सजिलै फर्किन सकिन्छ भन्ने अवस्थामा छैनौं, कुटनीतिक तहबाट केही मिल्यो भने हामी सार्वजनिक सूचना गरिहाल्छौं’ ती अधिकारीले भने-’यस्तो अबस्थामा तत्काल नेपाल नआउनु नै राम्रो हुन्छ ।’
श्रम मन्त्रालय स्रोतका अनुसार अफगानिस्तानमा नेपाली लैजाँदा कुनै प्रकृया नपुर्‍याई मानव बेचबिखनकै शैलीमा काम भएको भन्दै परराष्ट्र र गृहले आपत्ति जनाएका छन् ।
अबैध धन्दा मौलायो
सरकारले समयमै बैधानिकता दिन नसक्दा बिदामा आएका नेपालीहरु पुनः अफगानिस्तान फर्किन अबैध बाटो अपनाउन बाध्य छन् । हाल कान्दाहारस्थित नेटो सैनिकको बेसक्याम्पमा कार्यरत दोलखाका राजन श्रेष्ठले भने- ‘नेपाल फर्किएका साथीहरुले निकै दुःख पाएका छन्, भारतीय बाटो हुँदै आएका छन्, कतिपयले भने ८०-९० हजार रुपैयाँ खुवाएर त्रिभुवन बिमानस्थलबाटै आयौं भनेका छन् ।’
सरकारले बैधानिकता दिन ढिलाई गर्दा अबैध गिरोहको धन्दा मौलाएको भन्दै श्रेष्ठले फिलिपिन्स र श्रीलंकाले जस्तै बैधानिक दिने गरि डेस्क स्थापना गर्न सरकारसँग माग गरे । बैदेशिक रोजगार बिभागले वैधानिकता दिन छुट्टै शाखा नै स्थापना गरे पनि नीतिगत कुरा नमिल्दा त्यो शाखा नै कामविहीन भएको छ ।
दशैं तिहारमा बिदामा आएका कतिपय कामदारले भारतस्थित अफगानी दूतावासबाट भिसा लिएर गएको जानकारी आएको भन्दै बैदेशिक रोजगार बिभागका एक अधिकारीले अनलाइनखबरसँग भने-’एयरपोर्टमै सेटिङ मिलाएर गइरहेको खवर पनि पाएका छौं, अबैध धन्दा मौलाउनु दुर्भाग्यपूर्ण हो ।’
के भन्छन् नेपाली कामदार ?
अफगानिस्तानमा रहेका नेपाली कामदारले भने सरकारले छिटो भन्दा छिटो आफूहरुलाई बैधानिकता दिन माग गरेका छन् । त्यहाँ रहेका करिव १८ हजार नेपालीमध्ये अधिकांशले सेनाको क्याम्पभित्र काम गरिरहेकाले सुरक्षाको कुनै समस्या नभएको त्यहाँ कार्यरत् श्रेष्ठले बताए । फिलिपिन्स र श्रीलंकाले वैधानिकता दिएका कारण उनीहरुको रोजगारी आफगानिस्तानमा सुरक्षित भएको भन्दै श्रेष्ठले गुनासो गरे ।
हाल नेपालीहरुले ५ सय देखि ५ हजार अमेरिकी डलरसम्म मासिक तलव पाउने गरेको भन्दै उनले भने-’यहाँ रहेका नेपालीहरुले हस्ताक्षर संकलन गरेर अफगानिस्तानसमेत हेर्ने गरेको पाकिस्तानस्थित नेपाली दूतावासलाई बुझाउने तयारी गरिरहेका छौं ।’
त्यहाँ कार्यरत अधिकांश नेपालीसँग कम्पनीको परिचयपत्र, क्याम्प कमाण्डरको चिठी र सम्झौता भएपनि पासपोर्टमा भिसा भने नभएको उनले बताए । ६-६ महिनामा बिदा पाउने भएपनि फर्किन नपाइएला कि भन्ने डरले नेपालीहरु बिदामा नगई बसेको उनले बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!